आइतबार, चैत १२, २०७९

क्विक रेस्पोन्स टिम बनाउनुस्, पैसाको अभावमा कसैको ज्यान नजाओस्- प्रधानमन्त्री

फ्ल्यासन्युज नेपाल२०७८ जेठ २ गते १५:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि क्विक रेस्पोन्स टिम बनाउन निर्देशन दिएका छन् । उनले पैसाको अभावमा कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस भन्दै तत्काल सबै संयन्त्र तयार राख्न निर्देशन दिएका हुन् ।

आइतबार सिंहदरबारमा बसेको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘क्वीक रेस्पोन्स टिम बनाउनुस् । हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नुपर्‍यो । पैसाको अभावले कसैको ज्यान जान हुँदैन ।

यस्तै बैठकले सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय समेत गरेको छ ।

बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । ‘त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्नेछौं ।’

खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको पनि मन्त्री ज्ञवालीले बताए । ‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेका छौं ।’

 

तपाइँको प्रतिक्रिया