वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने मन्त्रिपरिषदले निर्णय
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कोरोना महामारीमा केन्द्रित भएको छ । वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने मन्त्रिपरिषदले निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले कोरोना महामारी चुनौतिपूर्ण ढंगले बढिरहेको भन्दै अस्पतालहरुको सहज व्यवस्थापनका उपायहरु खोज्नुपर्ने बताएका थिए ।
वीर अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शैयाको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकमा एकीकृत कोभिड अस्पताल सन्चालन गर्नेबारे प्रस्ताव आएको र त्यसमा थप छलफलपछि निर्देशिकासहितको व्यवस्थित प्रक्रिया अघि बढ्ने यो सँगै अब देशको पुरानो वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन गर्ने भएको छ । कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कार्य र परिचालनका लागि वीरलाई स्वास्थ्य मन्त्रालय आफैंले चलाउने भएको हो।
स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले संक्रामक रोग ऐन अन्तर्गत मन्त्रिपरिषदबाट विशेष आदेश जारी गरी वीरलाई आफैं चलाउने भएको हो। उक्त आदेश शनिबार बसेको मन्त्रिपरिषद बैठकले जारी गरेको हो। उक्त स्रोतका अनुसार अब वीर अस्पतालको नयाँ भवनमा ‘डेडिकेटेड युनिफाइड कमाण्ड’ अस्पताल बनाइन्छ। भवनमा तत्कालै तीन सय बेड अक्सिजनसहितको आइसियू, एक सय बेड आइसियू र ५० बेड भेन्टिलेटर बनाइने छ।
पाँच सात दिनको सिकाइ र अनुभवपछि सबै प्रदेशहरूमा युनिफाइड कमाण्ड अस्पताल बनाउने तयारी स्वास्थ्यको छ। वीरमा कम्तीमा ८ सय बेड सञ्चालन गर्न सकिने स्वास्थ्यको आँकलन छ। साधारण बिरामीलाई एक सय शैया छुट्याएर सात सय शैया कोरोना उपचारमा प्रयोग गर्ने तयारी स्वास्थ्यको हो। पन्ध्र दिनभित्रै यो काम सक्ने मन्त्रालयको तयारी रहेको स्रोतले बतायो।