लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
काठमाडाै। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरेका छन् ।
संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएका हुन् । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामापत्रमा उल्लेख छ ।
मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल उथलपुथल भएको छ । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।
वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै हो ।