रहेनन् पूर्वसांसद विदुर पौडेल
काठमाडौं । राष्ट्रियसभाका पूर्वसांसद एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले राससलाई जानकारी दिए । शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो ।
नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य, अधिकार सम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्यसमेत रहेका पौडेल पछिल्लो समय भतिज परमेश्वर पौडेलका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए ।
अविवाहित जीवन बिताउनुभएका पौडेल छ जना दाजुभाइमध्ये जेठा हुनुहुन्थ्यो । स्व पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधि अनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सदाचार एवं इमान्दार नेताको छवि बनाउनुभएका पौडेलले लामो समय संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गर्नुभएको थियो । प्राध्यापनपछि उनी राष्ट्रियसभाको सांसद बनेका हुन । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।रासस