वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १४ गते ११:०१
वीरगन्ज । वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जको नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका र बारा दुई जना संक्रमितको मंगलबार बिहान मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।
वीरगन्ज महानगरपालिका -२५ सिर्सियाकी ६५ वर्षीया संक्रमित महिलाको बिहान ३ बजे मृत्यु भएको हो। निमोनियाले ग्रसित उनलाई उपचारका लागि सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो। सोमबार नै उनको एन्टिजेन विधिबाट कोरोनाको परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका -२ की ४० वर्षीया महिलाको नारायणी अस्पतालमा मंगलबार बिहान साढे १ बजे मृत्यु भएको हो। नारायणी अस्पतालमा उपचारका लागि बैशाख ९ गते भर्ना गरिएकी ती महिलाको त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।