तत्काल लकडाउन हुँदैन, कोभिडविरुद्ध खटिन कार्यकर्तालाई ओलीको निर्देशन
काठमाडौ । सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि आइतबार बालुवाटारमा संवाददाताहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभरि लकडाउन नगर्ने बताए। लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए ।मन्त्री ज्ञवालीले सरकारको ध्यान नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा केन्द्रीत हुने बताए।
एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देशन गरेको बताए । बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय रहन पनि निर्देशन गरेको ज्ञवालीले बताए ।