प्रधानमन्त्री ओलीले गरे धरहराको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको पूननिर्माण सम्पन्न भएसँगै उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रमकाबीच धरहराको उद्घाटन गरेका हुन् ।
धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे ।
२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।
बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए ।
१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।
धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।
धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणका सचिव गेलालले बताए ।