लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता
काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्।
लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय हो। माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई जना सांसदको पद खारेज भएको छ। यहाँ नेकपा एमालेका ४१ सांसद छन् भने जनमोर्चाका १ जना सांसद छन्।
एमालेमा पनि ओली र माधव नेपाल पक्षबीच विवाद छ। मुख्यमन्त्री पोखरेललाई माधव समूहबाटै चुनौती छ। यसअघि नेपाल पक्षका सांसदहरूले कर्णाली प्रदेशमा पार्टी ह्वीप नमानेर फ्लोर क्रस गरेका थिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पनि कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
प्रदेशसभामा माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन् । कर्णाली प्रदेशमा जस्तै लुम्बिनीमा फ्लोस क्रश हुने खतरा उत्तिकै रहेको छ ।