सरकार ढाल्ने प्रयास भयोे, प्रतिवादमा उत्रिनुहोस्- उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन्।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन्। जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्यविरुद्ध प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए।
निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने बताए। सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने ,जनतामा निराशा फैलाउने र अस्तव्यस्त सृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए।
उनले भने, ु राजनीतिक अस्थिरता भइरह्यो भने, सरकार ढाल्ने खेल भयो भने। सरकार त ५ वर्षका लागि आएको हो निर्वाचित भएर। सधैँ बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन। एउटा अवधिसम्म बस्ने हो। त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन्।ु
अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न सरकार ढाल्ने, सरकार ढाल्ने खेल भएको उनको भनाइ थियो। राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी रहेको पनि उनले बताए।
उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनीतिक खिचातानीले कामै गर्न नसकिने वातावरण सृजना भएको बताए। स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो।
उनले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाइने पनि बताए। उनले स्थानीयस्तरमा हुने विकाश निर्माणलाई राजनीतिक रूपमा नहेर्न आग्रह गरे। राजनीतिक रुपमा प्रतिस्पर्धा भए पनि विकास निर्माणमा मिलेर लाग्नुपर्नेमा उनले जोड दिए।