विद्यालयलाई दुई सत्रमा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह
काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुई सत्रमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई शत्रमा विद्यालय चलाउन आग्रह गरेको हो ।
स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन मन्त्रालयले भनेको छ । तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन अपिल गरिएको छ ।
मन्त्रालयले विद्यालय बन्द गर्ने अधिकार समेत स्थानीय तहलाई दिएको छ । साथै संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालय बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न आग्रह गरेको छ ।