सिंहदरबारभित्रै कर्मचारीहरुको विरोध प्रदर्शन
काठमाडौ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा विधेयकका केही प्रावधानको विरोधमा नायब सुब्बा पदका कर्मचारीहरुले ‘गिराएर मनोबल कस्तो खोजेको प्रतिफलरु’ जस्ता कुराहरू लेखेको प्लेकार्ड बोकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
उनीहरुले ‘माननीय ज्यू नासुको आँसु देख्नु भएन ? ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रस्तावित संघीय निजामती सेवा ऐनमा राखिएका प्रावधानहरूले कर्मचारीको वृद्धि विकासमा बाधा पुग्ने भन्दै त्यसलाई सच्याउन दवाव दिने उद्देश्यले प्रदर्शन गरेको कर्मचारीहरुले बताएका छन् ।
ऐनमा निजामती सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था गरिएको छ । उक्त व्यवस्था गरिएको निजामति संघीय ऐन संसदको राज्य व्यवस्थाबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधिसभामा पुगेको छ ।