मुख्यमन्त्री गुरुङको सिफारिसमा हिजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा हिजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पारित हुन खोजेपछि मुख्यमन्त्री गुरुङले संसदको अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश सरकार गण्डकी प्रदेश मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन वैसाख १ गते राति १२ बजेबाट लागू हुने गरि अन्त्य गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि कांग्रेस९माओवादीलाई बहुमत सुनिश्चित भएको थियो।
गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बनाउन गणितीय रुपमा अघि त्रढेको चाल पाएपछि मुख्यमन्त्रीले संसद अधिवेशन अन्त्य गरेका हुन्।
मुख्यमन्त्रीमा कांग्रेस र माओवादी केन्द्र दुबैको दाबी थियो । तर कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार साँझ भएको भेटमा गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको थियो ।
भोलिसम्ममा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य चाहिन्छ । मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेसँग २७ सांसद छ ।