बिहीबार, मंसिर १५, २०७९

नयाँ वर्षको पहिलो दिनमै जीप दुर्घटना गुल्मी प्रशासनका पाँच जना कर्मचारीको मृत्यु, ११ जना घाइते

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १ गते १६:२९

प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप प्युठानमा आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएका सबै प्रशासनका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, सवारी चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी रहेका छन् । ४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रशासन कार्यालयका कर्मचारीले रिजर्भ गरेर नयाँ वर्षमा स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भिर छ ।

गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अहिले सबै घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । जीपमा १६ जना सवार थिए ।

तपाइँको प्रतिक्रिया