विसं २०७७ को कलाकारको वर्ष दिन : कोको तानिए विवादमा ?
काठमाडौँ । विसं २०७७ आजदेखि बिदा हुँदैछ । कोरोना कहरमै सुरु र अन्त्य भएको यो वर्ष नेपाली कला क्षेत्रका लागि सुखद रहन सकेन । जम्मा ४ वटा मात्रै फिल्म प्रदर्शनमा आएकाले यो वर्ष फिल्म निर्माणका हिसाबले पनि निराशाजनक रह्यो ।गीतसङ्गीतको कुरा गर्ने हो भने यो वर्ष साङ्गीतिक बजारमा थुप्रै गीतसङ्गीत भित्रिए । तर, कालजयी र सदाबहार गीतको अभाव भने खड्किरह्यो । अश्लील एवं भद्दा शब्दले भरिएका केही गीत र रिमेक भर्सनले भने साङ्गीतिक बजार तताउन सफल रहे ।काम र सिर्जनाको हिसाबले शून्यजस्तै रहेको २०७७ बिर्सन लायकको वर्ष बनेको छ । नेपाली कलाकारका विवाद वा स्क्यान्डल भने यो वर्ष धेरै देखिएको छ । तीमध्ये दर्जन (१२) घटना यस्ता छन् ।
नेपाली कला क्षेत्रमा वर्षकै चर्चित घटनाका रूपमा ‘महानायक’ विवादलाई हेर्न गरिन्छ । एक टेलिभिजन कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल पनि महानायक हो र ?’ भनेर दिएको अभिव्यक्ति देश तथा विदेशमा मात्र चर्चित भएन । यसले मिडियामा ‘महानायक को हो ?’ भन्ने बहस सिर्जना गरायो ।
दीपाश्रीले उक्त अन्तर्वार्ताका कारण मानसिक तनावसमेत झेल्नुपर्‍यो । सामाजिक सञ्जालमा उनका ट्रोल बने । अश्लील गाली समेत खेपेकी दीपाश्री अझै सो घटनाबाट मुक्त हुन सकेकी छैनन् । पछि अभिनेता राजेश हमालले अभिव्यक्तिमार्फत घटनाको सटडाउन गरे ।
२) पल शाहविरुद्ध उजुरी :
अभिनेता पल शाहविरुद्ध गत फागुनमा इलाका प्रहरी कार्यालय धरानमा दुव्र्यवहार र कुटपिटका विषयमा परेको उजुरीले पनि यो वर्ष मिडिया तताउन सफल रह्यो ।
फिल्मभन्दा म्युजिक भिडियोमा अभिनय धेरै गर्ने पलविरुद्ध चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधान प्रहरीमा पुगेका थिए । म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका पलले आफूमाथि आक्रमण गर्न लगाएको प्रधानको आरोप थियो । प्रहरीले पल र प्रधानलाई सँगै राखेर छलफल गराएपछि विवाद मिलेका थियो । दुवैले प्रहरीको अगाडि एक अर्काेसँग माफी माग्दै विवाद मिलाएका थिए ।
३) भुवनलाई साम्राज्ञीको आरोप
वर्षका चर्चित घटनामध्ये अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद पनि पर्छ । अभिनेत्री शाहले केसीलाई फिल्म छायाङ्कनका क्रममा विभेद गरेको, ह्यारेसमेन्ट लगायतका केही आरोप मिडियामार्फत लगाएकी थिइन् ।