कार्य व्यवस्था समितिमा रहेका नेपाल पक्षका सांसदलाई हटाइयो
काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्य हेरफेर गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख सापकोटाले समितिका सदस्यको हेरफेर सम्बन्धी सूचना सुनाएका हुन् ।
कार्यव्यवस्था परामर्श समितिमा एमालेबाट खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराईलाई राखिएको छ । कार्यव्यवस्था परामर्श समितिमा रहेका एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरूलाई हटाएर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकटका सांसदहरूलाई जिम्मेवारी दिइएको हो । घनश्याम भुसाललाई अर्थ समिति र योगेश भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ । अर्थ समितिमा प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकारसमेत रहेका सांसद मोतिलाल दुगडलाई पठाइएको छ ।
माओवादीका कृष्णबहादुर महरालाई अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार, वर्षमान पुनलाई अर्थ, विना मगरलाई विकास तथा प्रविधि र गिरिराजमणि पोखरेल शिक्षा समितिमा राखिएको छ । एमालेका गोकुल बाँस्कोटालाई सार्वजनिक लेखा समिति र महेश बस्नेतलाई राज्य व्यवस्था समिति ल्याइएको छ ।
बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६–२०७७ पेश गरिएको छ । प्रतिनिधि सभाको बैठक वैशाख ७ गतेसम्मको लागि स्थगित भएको छ ।