आइतबार, असोज १६, २०७९

म्यानमारमा जारी हत्या र दमनविरुद्ध नुवाकोटमा मानव अधिकारद्वारा दर्जन प्रदर्शन

फ्ल्यासन्युज नेपाल२०७७ चैत ३० गते १४:१४

म्यानमारमा जारी हत्या र दमनविरुद्ध नुवाकोटमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन प्रदर्शनका कार्यक्रम गरेको छ ।बर्मेली नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि शान्ति समाजले थालेको अभियानलाई अझ तीव्रता दिने जनाइएको छ ।

२०७७ चैत २७ गते मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठक नुवाकोटमा सम्पन्न पनि भएको छ । सोही दिन शान्ति समाजले बर्मामा भइरहेको हत्या र दमनविरुद्ध नुवाकोटको विदुरमा प्रदर्शन गरेको थियो ।शान्ति समाज नुवाकोट शाखाले चैत २३ गतेदेखी सुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विश्व शान्ति, मानव अधिकार र जलवायु परिवर्तनका विषयमा केन्द्रित रही ६ वटा शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम, सांकेतिक रुपमा नगर तथा नदी सफाई, शान्ति काव्य प्रवाह र दण्डहीनताविरुद्ध केन्द्रित रही अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

चैत २८ गते समाजका नुवाकोट शाखा सभापति नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, सचिव रामप्रसाद जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।शान्ति समाज केन्द्रीय कार्यसमिति बैठकले शान्ति समाजको सल्लाहकारमा समाजका पूर्व सभापति होमकान्त चौलागाईलाई नियुक्त गरेको छ भने निवर्तमान सभापति उत्तम पुडासैनी पदेन सल्लाहकार रहेका छन् ।

बैठकले शान्ति समाजको विधानअनुसार ६ जना केन्द्रीय सदस्यहरुमा किरण ढकाल काठमाडौं, कृष्ण नारायण श्रेष्ठ नवलपरासी पश्चिम, सुदिप रिजाल मोरङ, दुर्गा राना मगर (लक्ष्मी) काठमाडौं, उमा गौतम काठमाडौं र गणेश पौडेल रौतहटलाई नियुक्त गरेको छ ।यसैगरी अनुशासन समितिको संयोजकमा डिकप्रसाद घिमिरे र सदस्यहरुमा लालहरी पाण्डे र दुर्गा देवकोटा तथा सदस्यता अपिल समितिको संयोजकमा बलबहादुर गाहा मगर र सदस्यहरुमा भुमिश्वर गौतम र ईश्वरा लिङ्देनलाई नियुक्त गरेको छ ।

तपाइँको प्रतिक्रिया