कर्मचारीसँग प्रचण्डको गुनासो: ‘मिलेकालाई जबर्जस्ती डिभोर्स गर्न लगाइयो, पुनर्मिलन गर्न चाहन्छौँ’
काठमाडौं । शनिबार निजामती कर्मचारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना थुप्रै गुनासा र सरकारले गरेका अनैतिक कामहरुको समीक्षा गर्नुभएको छ । यसका साथै सरकारले ट्रेड युनियनलाई खारेजसँगै दास बनाएर गुट अधिनस्थ बनाएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद्, बबरमहल, काठमाडौंमा आयोजित कार्यक्रममा वर्तमान ओली सरकार धेरै दिन नचल्ने पनि उहाँले उद्घोष गर्नुभयो । र, अब छिट्टै नयाँ सरकार बन्ने पनि बताउनुभयो । यसरी विविध विषयमा रहेर कर्मचारीसमक्ष अध्यक्ष प्रचण्डले आफ्ना कुराहरु राख्नुभएको छ ।
कर्मचारीका कुरा
अध्यक्ष प्रचण्डले पूर्वएमाले र माओवादीको एकतापछि ट्रेड युनियनलाई मर्यादित, अनुशासित गरिने भन्ने सोच अनुसार एकता गरिए पनि विपरीत निष्कर्ष निस्केको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘एकतापछि राज्यलाई गुणात्मक बनाइनेछ भनिए पनि विपरीत भयो । ट्रेड युनियन आवश्यक छैन, खारेज गर्नुपर्छ र कर्मचारीलाई गुटको अधिनस्थ बनाउनुपर्दछ भन्ने सोचहरु आउन थाले । कर्मचारीतन्त्र सरकारको दासहरुको सयंन्त्र हो भन्ने प्रत्यक्ष देख्यौँ, भोग्यौँ । अहिले सत्ता कब्जा गर्ने बडो डरलाग्दो अभियान चलेको स्थिति छ । हुनै नहुने/नसक्ने कुराहरु अहिले भइरहेका छन् ।’
शुक्रबार बसेको तीन दलको बैठकमा एउटा कुरामा साझा सहमती जुटेको पनि अध्यक्ष प्रचण्डले खुलस्त पार्नुभएको छ । ‘अहिलेको कर्मचारीतन्त्रलाई सरकारले आतंकमा बाँच्न बाध्य पारेको छ । राज्यका सबै अंगहरुलाई कब्जामा राखेर सन्त्रासमा बाँच्न बाध्य पारिएको छ,’ उहाँले भन्नुभयो, ‘कर्मचारीको वृद्धि, विकास, आत्मसम्मान र स्वतन्त्रलाई कुल्चिने जबर्जस्ती प्रयास भएको छ । राज्यका सबै अंगहरुमाथि संगठित कब्जा जमाउन सुरु भएको तीन दलको सहमती देखियो ।’
एकताका कुरा
२०७४ को निर्वाचनमा बाम एकताको उद्धेश्य र लक्ष्यबारे पनि अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्नुभएको छ । उहाँले विगतमा लिइएका लक्ष्य सम्झिँदै भन्नुभयो, ‘एकतापछि देशको स्थायित्व, आर्थिक समृद्धिका निम्ति बाम गठबन्धन र कम्युनिष्ट पार्टीको एकता गरेका थियौँ । एकता गर्यौँ, चुनाव भयो । त्यस्तो पनि दुनियाँमा कहीँ हुन्छ– हिजो बाम गठबन्धन गर्दा पूर्वएमालेको भोट पूर्वमाओवादीलाई र पूर्वमाओवादीको भोट पूर्वएमालेलाई परेको छ । त्यो भोट अहिले छुट्ट्याउन सकिन्छ ? कुनै नियम, विधि विधान, संविधान, मान्यताले यस्तो परिकल्पना गरेको छ ? प्रतिनिधिसभा र राष्ट्रिय सभा चुनावमा लडेका मान्छेलाई के भनेर परिभाषित गर्ने ?’
प्रधानमन्त्री ओलीका कुरा
देशको सर्वाेच्च अदालत त्यस्तो रुपमा देखा परेर परिभाषित गरिदिएको र पुनः तीन वर्ष अघिकै समयमा फर्काइदिएको पनि उहाँले बताउनुभएको छ । साथै, जे आधिकारीक थियो त्यसलाई अदालतले अमान्य बनाइदिएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘आधिकारीक–नेकपाको ७० प्रतिशतले प्रधानमन्त्री ओलीलाई अनुशासनहीन, जनविरोधी, राष्ट्रविरोधी भएकाले पार्टीबाट हटाएको त्यो आधिकारीक, वैधानिक थयो । त्यो ऐन अनुकूल थियो । संसदीय दलको बहुमतले हस्ताक्षर गरेर प्रधानमन्त्री ओलीलाई दल नेताबाट हटाएको थियो र मलाई दल नेता निर्वाचित गरिएको थियो ।’
सेटिङका कुरा
यतिमात्र नभएर बहुमतको हस्ताक्षर संसद सचिवालयमा दर्ता गरिएको पनि उहाँले बताउनुभयो । तर, सेटिङमार्फत सबै कामहरु गरिएको उहाँको आरोप छ । सेटिङपछि आधिकारीक ट्रेड युनियनलाई खारेज गरिदिने काम र छलछाम, अनाधिकारपूर्ण, बेइमानपूर्ण कामहरुले स्थान पाएको उहाँको भनाइ थियो ।पार्टीबाट हटाइएको अध्यक्षलाई पुनः अध्यक्ष र प्रधानमन्त्री बनाइनु दुनियाँमा कहीँकतै नदेखिएको पनि उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सेटिङ क–कस्ले चलाएको हो सबैलाई थाहै छ । तर, सेटिङमा सरकरा चल्न थालेपछि कर्मचारीले न्याय पाउने, आत्मसम्मान पाउने, वृद्धिविकासमा विधिसम्मत अघि बढ्न पाउने स्थिति देखिँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत संविधान निर्माण गरेका हौँ र फेरी देशको रक्षाका निम्ति एकचोटी नयाँ आन्दोलनमा जानुको विकल्प छैन । हामी प्रयत्न गरिरहेका छौँ, कसैलाई दुःख नदिइकन ।’
जर्बजस्ती डिभोर्स गराइएका कुरा
एकताका बेला जे सपना बोकेर आइएको थियो तर अहिले बडो विचित्रको अवस्था देखा परेको दुःख अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभयो । ‘समायोजन लथालिंग भयो । यदि, साँच्चै संविधान मिच्ने नै कोसिस जारी रह्यो, लोकतान्त्रिक मान्यतालाई कुल्चने र स्वेच्छारी ढंगले प्रयास भयो भने एउता नयाँ विद्रोहमा जान सक्ने सम्भावना आउँछ । शान्तिपूर्ण र प्रतिस्पर्धात्मक ढंगले नै अगाडि बढ्न चाहन्छौँ,’ उहाँले भन्नुभयो, ‘यो स्थिति सिर्जना हुनुअघि नै नयाँ सरकार गठन गरेर यो सरकारले गरेका ज्यादती सच्याउन चाहन्छौँ । हाम्रो जस्को विचार भावना मिलेको थियो । मिलेकालाई जबर्जस्ती डिभोर्स गराइयो । हामी यसलाई पुनः मिलन गर्न चाहन्छौँ । र, फेरि राष्ट्रिय एकता मजबुत गर्न चाहन्छौँ तर, हामीलाई बाध्य पारियो भने त्यसको प्रतिवाद सिंहदरबारभित्रैबाट, देशभरबाटै त्यसको प्रतिवाद गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।’
नयाँ सरकारका कुरा
अब नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रको सहकार्यमा छिट्टै सरकार गठन हुने पनि उहाँले बताउनुभएको छ । ‘हामी नयाँ सरकार गठनको तयारीमा छौँ । केही ढिलो चाँडो हुन्छ नै । तर, सबै कालो बादल हट्छ नै भन्नेमा आशावादी छु ।’