वायु प्रदूषणमा केही सुधार, तर काठमाडौं अझै विश्वका प्रदूषित
काठमाडौं । केही दिन अघिसम्म काठमाडौंसहित देशका विभिन्न ठाउँमा बढेको वायु प्रदूषणमा केही सुधार भएको छ । गएराति देशभर हावाहुरीसहित हल्का पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको हाे ।गएराति काठमाडौंमा पनि फाट्टफुट्ट पानीसँगै हावाहुरी चलेको थियो । शनिबार बिहानदेखि माैसम खुलेकाे देखिए पनि वायुप्रदूषणमा उल्लेख्य सुधार भने हुन सकेकाे छैन ।
वायु प्रदूषण मापन गर्ने आइक्युएअर डटकमका अनुसार हाल काठमाडौंको एक्यूआई १ सय ६६ रहेको छ र विश्वका प्रदूषित प्रमुख शहरहरूकाे सूचीमा पहिलाे स्थानमै रहेकाे छ । जुन अस्वस्थ वायु प्रदूषणकै तहमा रहेको आइक्युएअरले जनाएको छ । तर याे अस्तिकाे भन्दा निकै सुधार हाे । एक्यूआई ३०० भन्दा बढी हुनु स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।
केही दिन अघि ४७० एक्यूआईसम्म पुगेको काठमाडाैँकाे वायु प्रदूषणले विशेष गरेर वृद्धवृद्धा, बालबालिका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूलाई अझै पनि असर गर्न सक्ने चिकित्सकहरु बताउछन् । चिकित्सकहरुका अनुसार घरबाट बाहिर निस्कन परेमा मास्क लगाउनु अनिवार्य छ ।