वैशाख ६ र ७ गते देशभर भिटामिन ए खुवाइँदै
सरकारले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । दोस्रो चरणअन्तर्गत वैशाख ६ र ७ मा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।अभियानअन्तर्गत १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल दिइनेछ । मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरी भिटामिन ‘ए’ कार्यक्रमको सहजीकरणका लागि प्रदेश, मन्त्रालयरस्थानीय तहसँग समन्वय गर्न अनुरोध गरेको छ । यसका साथै उक्त अभियानसम्बन्धी अन्य व्यहोरा स्वास्थ्य सेवा विभागको पत्रबाट सूचित गराउने बताइएको छ ।
बालभिटा कार्यक्रम लागू भएका जिल्लामा भने ६ देखि २३ महिनाका बालबालिकालाई बहुसक्ष्म पोषक तत्त्व पनि वितरणसमेत गरिनेछ । कोरोना भाइरस संक्रमण बढ्दै गएकाले मन्त्रालयले स्वास्थ्य सजगता अपनाउँदै अभियान सञ्चालन गर्न आग्रह गरेको छ । यसअघि मंसिर ११ र १२ गते भिटामिन ए र जुकाको औषधि खुवाइएको थियो ।