बिहीबार, मंसिर १४, २०८०

वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ : सभापति देउवा

फ्ल्यासन्युज नेपाल२०७७ चैत २७ गते १६:४४

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले निर्वाचन बाध्यता हुनसक्ने बताए । “सरकार गठन भए ठीकै भयो, भएन भने निर्वाचनमा जानुपर्ने हुन सक्छ, निर्वाचन बाध्यता हुन सक्छ । पार्टीको सरकार भएन भने पनि देशको निर्वाचन तथा पार्टीको अधिवेशनमा लाग्नुपर्नेछ । वर्तमान सरकारको विकल्प पनि खोज्नुपर्ने छ, यी दुवै काम प्राथमिकतामा छन्”, उनले भने ।

वर्तमान सरकारको विकल्प खोज्ने गरी सत्ता समीकरणको चर्चा चलिरहेका बेला कांग्रेस सभापति देउवाको यस्तो भनाइ आएको हो । सत्ता साझेदारीका विषयमा सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) तथा प्रतिपक्षमा रहेको जनता सामाजवादी पार्टीबीच छलफल चलिरहेको छ । यी तीन दलको बैठक आजै अपराह्न बस्दैछ ।

सरकार हटाउन पार्टीले सक्रियता नदेखाएको भन्ने पार्टीका नेताको भनाइप्रति लक्षित गर्दै कांग्रेस सभापति देउवाले वास्तविकताको धरातलमा उभिएर अघि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिए । उनले भने, “अहिलेको वास्तविकता बुझिदिनुस्, संसद्मा सङ्ख्या कम छ, दुई पटक बैठक बोलाउन प्रयास गरेकामा सङ्ख्या नै नपुगेर स्थगित भयो । नेपालको संविधानअनुरुप एक चौथाइ सदस्यले संसद् बोलाउन पनि हामीसँग सङ्ख्या पुग्दैन, त्यसैले यो गरेन त्यो गरेन भनेर नेतृत्वलाई आरोप मात्रै लगाएर हुन्न ।”

तपाइँको प्रतिक्रिया