अमेरिकामा घरेलु बन्दूकको प्रयोग रोक्न बाइडेनले जारी गरे ‘कार्यकारी आदेश’
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा घरेलु रूपमै उत्पादन हुने बन्दुकको प्रयोग रोक्न लक्षित एउटा निर्देशन जारी गरेका छन् । ‘गोस्ट गन’ भनेर चिनिने ती बन्दूक दर्ता नभएकाले पत्ता लगाउन समेत नसकिने भन्दै प्रयोगमा रोक लगाउने प्रयास थालिएको हो ।अमेरिकामा बन्दुकबाट हुने हिंसामा बढोत्तरी भइरहेको समयमा बाइडेनले उक्त निर्देशन जारी गरेका हुन् । उनले बिहीबार भने, ‘यो देशमा बन्दुकबाट हुने हिंसा एक खालको महामारी नै हो र अन्तर्राष्ट्रिय स्तरमै यो लज्जाको विषय हो ।’
बाइडनले आफ्नो उक्त नयाँ निर्देशनलाई ‘कार्यकारी आदेश’ मार्फत् लागु गराँउदैछन् । यसको मतलब अमेरिकी संसद (कङ्ग्रेस)ले यस आदेशलाई स्वीकृत गर्न जरुरी हुँदैन ।बिबिसीका अनुसार बाइडेनले नयाँ आदेशमा निश्चित बन्दुकहरूबारे नियम तय गर्ने बताएका छन् । साथै तिनको पृष्ठभूमिबारे जाँच बढाउने र स्थानीय रूपमा हिंसा हुनबाट रोक्ने जस्ता विषयवस्तु उक्त आदेशमा समावेश गरिएको छ ।
अमेरिकीहरु बन्दूक संस्कार लामो समयदेखि जकडिएर रहेकाले बाइडेनको उक्त आदेश कार्यान्वयन गराउन भने सहज नरहेको बताइन्छ । नागरिकले हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानको दोस्रो संशोधनले सुनिश्चित गरेको छ । कैयौँ मानिसहरूले बन्दुक नियन्त्रण सम्बन्धी कानुन आफ्नो संवैधानिक अधिकार माथिको उल्लङ्घनका रूपमा हेर्ने गरेका छन् । विगतमा पनि बन्दूक नियन्त्रणका प्रयास भए पनि सफल हुन सकेनन् ।