जसपामा अन्तरिक द्वन्द्व बढ्दै ! यसकारण बैठकसमेत प्रभावित
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालमा आन्तरिक द्वन्द्व बढ्दै गएको छ । सत्ता साझेदारीका बारेमा पार्टीका नेताहरुबीच मतभेद देखिएको सो पार्टीमा लामो समयदेखि आन्तरिक बैठकसमेत प्रभावित हुँदै आएको छ ।जसपा नेपालका नेताहरु एकीकरण अघिकै दलमा विभाजित रहेर आन्तरिक छलफल गरिरहेका छन् । पछिल्लो समय जसपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन भने राजनीतिक स्वार्थका आधारमा विभाजित हुँदै साविकको समाजवादी पार्टी र राजपा नेपालका नेताहरु छुट्टाछुट्टै छलफल र बैठकमा जुटेका छन् ।जसपा नेपालले चैत ५ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको थियो । तर अन्तिम समयमा आएर उक्त बैठक स्थगित गरिएको थियो ।
त्यही दिन बिहान बसेको पदाधिकारी बैठकमा सत्ता साझेदारीका विषयमा विवाद बढेपछि कार्यकारिणी समितिको बैठक स्थगित गरिएको हो ।पछिल्लो समय जसपा नेपालभित्र सत्ता साझेदारीका लागि एमालेलाई रोज्ने वा काँग्रेस–माओवादी केन्द्रलाई भन्नेबारे मतभेद छ । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु एमालेसँग सहकार्य गर्नका लागि इच्छुक देखिएका छन् भने उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतका नेताहरु काँग्रेस–माओवादीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् ।
सोही मतभेदका बीच जसपा नेपाल शुक्रबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आयोजना गर्ने तीन दलीय बैठकमा सामेल हुँदैछ । तर उक्त बैठकमा पार्टीका तर्फबाट कस्तो अडान राख्ने वा के–कस्ता प्रस्ताव गर्ने भन्नेबारे जसपा नेपालले आन्तरिक छलफलसमेत गरेको छैन ।पार्टी निकट स्रोतका अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर रहेका कारण जसपा नेपालको बैठक बस्न नसकेको हो ।
पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादव भन्छन्, ‘पार्टीका शीर्ष नेताहरु काठमाडौँभन्दा बाहिर बाहिर रहेको कारण बैठक बस्न नसकेको हो । नेताहरु काठमाडौँ फर्किदै हुनुहुन्छ, त्यसपछि सल्लाह गरेर बैठक बस्नेछ ।’धनुषामा पार्टीको प्रशिक्षण कार्यक्रम चलेको र त्यसमा केही नेताहरु व्यस्त भएका कारण पार्टीको कार्यकारिणी समितिको बैठकमा केही विलम्ब भएको उनको भनाइ छ ।सोही पार्टीका अर्का नेता डा.सुरेन्द्र झा पार्टीको बैठक बस्न आवश्यक देखिएको तर नेताहरु बाहिर रहेका कारणले ढिलो भएको बताउँछन् । पार्टीका समायोजनका काम पनि ठप्प रहेको भन्दै उनले त्यसका लागि बैठक बस्न आवश्यक रहेको बताए ।