गोरखाको बारपाकमा जीप दुर्घटना दुई शिक्षकको मृत्यु
गोरखा । गोरखाको बारपाकमा भएको बोलेरो जीप दुर्घटनामा लमजुङका दुई शिक्षकको मृत्यु भएको छ। एउटै विद्यालयका सात जना शिक्षक घाइते भएका छन्।
बारपाकबाट राङरुङतर्फ झर्दै गरेको ना ५ च ३२९८ नम्बरको जीप दुर्घटना हुँदा दूधपोखरी गाउँपालिका २ को बागिश्वरी मावि बिचौरका शिक्षकहरु रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो ।
दुर्घटनामा अनिल मरहठ्ठा, विष्णु दवाडी, अमृत दवाडी, सुशिल नराल, विष्णु न्यौपाने, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी घाइते भएका छन् ।
शिक्षक सवार जीप हिजो साँझ साँढे छ बजे राङरुङको भीरबाट करिब ६० मिटर तलको दरौँदी नदीमा खसेको हो । घाइते सबैलाई उपचारका लागि गोरखा सदरमुकाम लगिएको छ ।
बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा भीषण आगलागी भएको छ । शनिवार दिउँसो करिब साढे ३ बजेतिर आगलागी हुँदा एक सय १५ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।
शनिबार दिउँसो लागेको आगो साँझ मात्र नियन्त्रणमा आएको थियो । नरैनापुर, नेपालगन्ज उपमहानगरपालिका र नेपाल प्रहरीका पाँचवटा दमकलसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका लिएका हुन् ।
आगोमा जलेर तीन जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । आगलागी पीडितलाई पाल र खानाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
खरले छाएका र आपसमा जोडिएका घर–गोठ तथा तीव्र हावाहुरीका कारण आगलागीबाट धेरै क्षति भएको प्रहरीले जनाएको छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।