सोमबार, चैत १३, २०७९

धेरै दिनपछि काठमाडौंको मौसम खुल्यो

फ्ल्यासन्युज नेपाल२०७७ चैत २० गते ८:५०

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका अधिंकाश ठाउँको मौसम सफा भएको छ । एक साता यता वायु प्रदुषणका कारण तुँवालोले भरिएको काठमाडौंमा शुक्रबार घाम लागेको छ । मुलुकका अधिंकाश क्षेत्रमा डडेलो लागेका कारण काठमाडौं उपत्याका सहित विभिन्न स्थानको मौसम प्रतिकुल बनेको थियो ।

मौसम क्रमश सुधार हुँदै गएकाले धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको छ । तर, पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद् निराजन सापकोटाले बताएका छन्।

यस्तै, आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको सापकोटाले जानकारी दिएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परे पनि अन्य ठाउँमा भने नपर्ने मौसमविद् सापकोटाको भनाई रहेको छ ।

यसैबीच, डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने मौसमविद्ले बताएका छन् । ‘अहिले मौसम सफा हुँदै गएको छ तर, आइतवार, सोमवारदेखि फेरि वायुमण्डल स्थिर रहने देखिएको छ’, उनले भने, ‘वायुमण्डल स्थिर रहँदैमा प्रदूषण बढ्छ भन्ने होइन तर डढेलो नियन्त्रण भएन भने चाहिँ हावा नचल्दा प्रदूषण बढ्ने सम्भावना छ ।’

आज पनि देशका विभिन्न २८ क्षेत्रमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । प्रणालीका अनुसार सबैभन्दा धेरै सुर्खेतका २९ ठाउँमा, सल्यानका २२ ठाउँमा र बर्दियाका विभिन्न २१ क्षेत्रमा डढेलो लागेको छ ।

तपाइँको प्रतिक्रिया