मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता
काठमाडौं । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव एमालेका सबै सांसदले फिर्ता लिएका छन् । मुख्यमन्त्री राई विरुद्ध तत्कालीन नेकपा पार्टीबाट हस्ताक्षर गर्ने ३७ जना सांसदमध्ये एमालेका सबै २२ सांसदले प्रस्ताव फिर्ता लिएका हुन् ।
हस्ताक्षर गर्ने ६ एमाले सांसदहरूले यस अघि नै अविश्वासको प्रस्ताव फिर्ता लिइसकेका थिए । बाँकी रहेका नेपाल समूहका १६ जना सांसदले पनि संसदीय दलले एक हप्ताको अल्टिमेटम दिएपछि समयभित्रै अविश्वासको प्रस्ताव मंगलबार फिर्ता लिएका हुन् ।
११ चैतमा दलका नेता शेरधन राईको नेतृत्वमा बसेको एमाले प्रदेश १ संसदीय दलको बैठकमा नेपाल–खनाल समूहलाई एक हप्ता मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको थियो । बैठकमा सहभागी माधव नेपाल समूहका सांसदहरूले पनि एक हप्ताभित्र सामूहिक रूपमा तोकिएको समयभित्र हस्ताक्षर फिर्ता लिने प्रतिबद्धता जनाएका थिए ।