बेकारमा पार्टी एकताको कुरा डबलीमा गर्दै हिँडे- ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै देशको राजनीतिलाई आफ्नो निहित स्वार्थको लागि धमिल्याउन खोजेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ? प्रश्न गरे ।
पार्टी एकताकै बेकारको कुरा डबलीमा गर्दै हिँडेको भन्दै ओलीले प्रचण्डलाई बेकारका उल्टापाल्टा कुरा नगर्न भनेका छन्।
नेकपा खारेज गरेको विषयमा प्रचण्डले आज सर्वोच्चमा मुद्दा दिएका थिए। त्यसतर्फ संकेत गर्दै ओलीले अदालतले पार्टी मिलाइदिने हो भन्ने प्रश्न गरेका छन्।
प्रधानमन्त्री ओलीले अदालतलाई मजाकका रुपमा नलिन नेताहरुलाई सुझाव दिएका छन् । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै फागुन २३ को सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएर पुनरावलोकनमा गएर अदालतलाई मजाकका रुपमा लिएको बताएका हुन् ।
उनले भने ‘सामाजिक सुरक्षाका प्रबन्धहरुका क्षेत्रमा थुप्रो काम हामीले गर्यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु गर्यौँ । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौँ । अब पनि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै । साउन १ गतेदेखि लागु हुनेगरी बढ्छ । सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागु हुनेगरी बढाइने छ ।’
प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताए । सरकारले गच्छे अनुसार सञ्चार क्षेत्रलाई सहयोग गर्ने पनि बताए ।