नेकपा एमालेद्वारा नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन
काठमाडौं । सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (एमाले) ले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । पार्टीको सिद्धान्त, ऐन नियम र पार्टी अनुशासन विपरित अघि बढेको भन्दै नेता नेपाल र रावललाई ६ महिनाको लागि निलम्बन गरेको हो ।
सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका हुन्। पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हुन् ।
प्रधानमन्त्री ओलीले दुवै नेतालाई पत्र लेख्दै पार्टीबाट निलम्वन गरेको जानकारी गराएका छन् । उनले तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।
त्यस्तै स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटिको स्वीकारोक्ती नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रूपमा देखियो समेत उल्लेख गरेका छन् ।