ओलीलाई हटाउन कांग्रेस अघि बढोस्, हामी समर्थन गर्न तयार छौं- यादव
काठमाडौं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनका लागि कांग्रेस अघि सरे आफूहरुले सहयोग गर्ने बताएका छन् । शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने भन्दै उनले यसका लागि संसद्को दोस्रो ठूलो दल कांग्रेस अघि बढे जसपाले समर्थन गर्ने जनाएका हुन् ।
‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनै पर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ सम्मेलनमा यादवले भने, ‘त्यसका लागि कांग्रेस अघि बढोस्, हामी समर्थन गर्न तयार छौं ।’ उनले ओली नेतृत्वको सरकारमा जसपा कुनै पनि अवस्थामा सहभागी नहुने बताए । ‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ ।
हामी ओली सरकारमा जाँदैनौं,’ उनले भने । उनले सरकारसँग रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाईको सन्दर्भमा सरकारसँग कुरा भएको भएको तर सरकारमा जाने नजाने भन्ने विषयमा छलफल नगरिएको जनाएका छन् ।
उनले प्रधानमन्त्रीले संविधान धारा २८४ विपरीत अध्यादेशमार्फत सवैधानिक परिषद्मा नियुक्ति गरेर स्वेच्छाचारी र निरंकुश प्रवृत्ति देखाएको उनले आरोप लगाए ।