बिहीबार, मंसिर १४, २०८०

टीकापुर घटनाको सम्बन्धमा वार्तामा आउन गृहमन्त्रीको आग्रह

फ्ल्यासन्युज नेपाल२०७७ चैत १२ गते १९:०५

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ता टोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । माइतीघर मण्डलामा धर्नामा बसेका थारु अगुवाहरुलाई भेट्न पुगेका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

समस्या समाधानका लागि सरकारले छिट्टै वार्ताटोली गठन गर्ने जानकारी दिंदै गृहमन्त्री थापाले धर्ना रोकेर वार्तामा आउन आग्रह गरे । गृहमन्त्री थापाले टिकापुर घटनाका कतिपय विषय राजनीतिक र कतिपय कानूनी तथा प्रशासनिक तवरबाट हल गर्न सकिने आश्वासन दिए ।

पूर्व सांसद रुकमणी चौधरीले धर्नाको पाँचौ दिनमा गृहमन्त्री आफै आएर मागहरुको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताए । उनले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने लगायतका १९ बुँदे माग राखिएको बताए ।

थारु अगुवाहरुले २०७२ सालमा भएको टीकापुर घटनामा फैजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाईको माग गर्दै आइतबारदेखि माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

तपाइँको प्रतिक्रिया