एमालेका चार जना नेताले ओलीलाई सार्वजनिक रुपमै प्रश्नसहितको स्पष्टिकरण दिने
काठमाडौं । माधवकुमार नेपालसहित नेकपा एमालेका ४ जना नेताले अध्यक्ष केपी शर्मा ओली पक्षले मागेको स्पष्टीकरणको जवाफ राजनीतिक विषयवस्तु बनाई सार्वजनिक रूपमा दिने भएका छन्।
पार्टीभित्रको अन्तर–संघर्ष राजनीतिक विषय भएकाले त्यसैअनुसार जवाफ दिने र सँगसँगै अध्यक्ष ओलीलाई प्रश्न पनि सोध्ने उनीहरुको तयारी छ ।
पार्टीको हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको थियो ।
त्यसैको जवाफ उनीहरूले सार्वजनिक रूपमा पेस गर्ने भएका हुन्। जसमा पार्टी एकताको असफलता, संसद् विघटन र पुनर्स्थापन लगायतका विषय रहने नेताहरूले बताएका छन्।
साथै ओली सरकारले गरेका अनियमिततासमेत जवाफमा समेटिने एक स्थायी कमिटी सदस्यले बताए। हिजो नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक बसेको थियो।
बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ २ गते अर्थात् माओवादी केन्द्रसँग मिलेर नेकपा बन्नुअघिकै कमिटीलाई कायम गर्नुपर्ने नेपाल पक्षको माग छ। तर नेपाल समूहका केही नेताले भने बाहिर बसेर सर्त राख्नुभन्दा पार्टीका बैठकमै सहभागी भएर आफ्ना माग र मत राख्नुपर्नेमा जोड दिइरहेका छन्।
एमाले पुनर्स्थापना भएको केही दिन नबित्दै गत फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको मात्र बैठक राखेर अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रबाट आएका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका थिए ।
जुन निर्णयलाई नेपाल पक्षले पार्टीको विधानविपरीत भएको बताइरहेको छ। नेपाल पक्षले पनि समानान्तर कमिटी बनाइरहेको छ। तर ओली पक्षले भने अहिलेसम्म गरेका गतिविधिका लागि नेपाल पक्षले माफी माग्नुपर्ने सर्त राखेको छ।