कञ्चनपुरमा मेला, पर्व, महोत्सव, जात्रा र भीडभाड गर्न निषेध
काठमाडौ । कञ्चनपुर जिल्लामा होली सहित मेला, पर्व, महोत्सव, जात्रा र भिडभाड गर्न पूर्ण रुपमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजैदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागु हुने गरी निषेध आदेश जारी गरेको हो ।
त्यस्तै, धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी आदेशमा उल्लेख छ । आदेशानुसार, कोभिड १९ महामारीको संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा स्वास्थ्य सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ ।
अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग कलकारखाना, यातायात लगायतका सेवा एवं मानिसहरुको आवगमन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । नेपाल प्रवेश गर्ने गड्डाचौकी र गौरीफण्टा नाकाबाट बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्ममात्र आवागमन र मालसामान ढुवानी गर्न पाउने तर बाँकी समय र अन्य खुला क्षेत्रबाट आवागमन पूर्ण रुपमा बन्द गर्न आदेश दिइएको छ ।
तोकिएका नाकाबाट नेपाल प्रवेश गर्ने सबैको अभिलेख राख्ने, हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परीक्षण गराउने र ज्वरो आएका यात्रुहरुको मलेरियाको आरडिटी तथा सम्भव भएसम्म कोभिड १९ को एन्टिजेन परीक्षण गर्नुपर्ने जनाइएको छ ।।