बिहीबार, मंसिर १४, २०८०

दुई दिने भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

फ्ल्यासन्युज नेपाल२०७७ चैत ९ गते १०:१४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गरेकी छन् । बंगलादेशका समकक्षीको निम्तोमा राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान साढे ८ बजे राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजमार्फत ढाका प्रस्थान गरेकी हुन्।

 

राष्ट्रपति भण्डारीको बिदाइका लागि विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी पुगेका थिए ।

 

त्यहाँ उनलाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइएकाे थियाे।

उनले आजै बङ्गलादेशका राष्ट्रपति सँग दुईपक्षीय भेटवार्ता गर्नुहुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीको भ्रमण दलमा २७ सदस्य छन् । टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई पनि छन् । भ्रमण दलमा राष्ट्रपति कार्यालयबाट चार जना परेका छन् ।

तपाइँको प्रतिक्रिया