बिहीबार, चैत ९, २०७९

माधव समूहका चार जनालाई स्पष्टीकरण सोधिने

फ्ल्यासन्युज नेपाल२०७७ चैत ७ गते १९:४०

काठमाडौं । सत्तारुढ नेकपा एमालेको संस्थापन पक्षले नेपाल खनाल पक्षलाई कारवाही प्रक्रिया अघि बढाएको छ । शनिबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पार्टी हितविरूद्ध काम गरेको उनीहरुमाथि आरोप लगाइएको छ ।

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उहाँ निकट हस्तीमाथि कारवाही गर्ने गरी अनुशासनको डण्डा चलाउन शुरु गर्नुभएको छ । नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेको उनीहरुमाथि आरोप छ ।

चितबुझ्दो जवाफ नआए कारबाही गर्ने निर्णय भएको छ । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले ती नेताहरुलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए कारबाही हुने बताउनुभएको छ ।

रामकुमारी झाँक्रीलाई कारवाही गर्ने प्रस्ताव भएपनि वजन नपुग्ने र कारवाहीले हाईट बढ्ने भन्दै प्रधानमन्त्री ओलीले कारवाही स्थगन गरेको बताईएको छ । वरिष्ठ नेता झलनाथ खनालमाथि भने कारवाही गर्ने निर्णय भएन ।

समानान्तर रुपले जनसंगठन बनाउने सबै नेतालाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको छ । पार्टीलाई कमजोर पार्ने गतिविधिलाई क्षमा दिन नसकिने बैठकले निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

यस्तै बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्दै ०७८ साल मंसिर २ गतेदेखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

कार्यविभाजनको प्रस्ताव ल्याउन विष्णु पौडेल, टोपबहादुर रायमाझी र शंकर पोखरेललाई जिम्मा दिइएको छ ।

तपाइँको प्रतिक्रिया