बिहीबार, चैत ९, २०७९

अमेरिकासँगको सम्बन्ध अप्ठ्यारो अवस्थामा पुगेको रूसको भनाइ

फ्ल्यासन्युज नेपाल२०७७ चैत ५ गते १०:२६

एजेन्सी । रुसले वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । अमेरिकासँगको ‘उल्टाउन नसकिने क्षति’ जोगाउन भन्दै वार्ताका लागि भन्दै राजदूत अनाटोली एन्टोनोभलाई मस्को फिर्ता बोलाइएको हो ।

अमेरिकासँगको सम्बन्ध ‘अँध्यारो गल्ली’को अवस्थामा पुगेको रूसले जनाएको छ । अमेरिकी चुनावमा रुसले दखल दिएको आरोपकाबीच राष्ट्रपति जो बाइडनले भ्लादिमिर पुटिनले त्यसको ‘मूल्य चुकाउनुपर्ने’ भनेपछि मस्कोले पछिल्लो कदम चालेको हो ।

यसअघि रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदन सार्वजनिक भएको थियो ।

त्यसमा प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटा क्षति पुर्‍याउने व्यक्ति अर्थात् ‘किलर’ रहेको आफूलाई लागेको उल्लेख गरेका थिए ।

प्रतिवेदनमा बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्नेगरी थुप्रै उपायहरू अपनाएको उल्लेख छ । मस्कोले ती आरोपहरू अस्विकार गरेको छ ।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘त्यस्ता आरोपहरूको प्रमाण नभएको र त्यसले दुई देशबीचको सम्बन्धमा थप क्षति पुर्‍याउने’ बताएका छन् । प्रतिवेदनको निष्कर्षका आधारमा अमेरिकाले अर्को सातासम्ममा रुसमाथि प्रतिबन्धहरू लगाउने तयारी गरेको छ ।

तपाइँको प्रतिक्रिया