बुधबार, चैत ८, २०७९

ओलीको विसर्जनवादविरुद्ध संघर्ष अपरिहार्य भएको खनाल-नेपाल समूहको ठहर

फ्ल्यासन्युज नेपाल२०७७ चैत २ गते ९:२८

काठमाडौं । नेकपा एमालेका खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई नै विघटन र विसर्जनको बाटोमा लगेको भन्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

सत्तारूढ एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका पदाधिकारी र स्थायी कमिटी सदस्य गरी ११ जनाले संयुक्त वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रिय हित, स्वाधीनता र अखण्डता तथा स्वाभिमानलाई सुदृढ तुल्याउँदै जनताको समृद्धि हासिल गर्ने आफूहरूको लक्ष्य रहेकाले त्यसका लागि पार्टी पुनर्गठनको आवश्यकता परेको वक्तव्यमा उल्लेख छ ।

ओलीलाई सच्याउने सबै प्रकारका प्रयास असफल भएकाले अब क्रान्तिकारी पुनर्गठनको दिशामा अघि बढ्नुपर्ने उनीहरूको निष्कर्ष छ ।

वक्तव्यमा ओलीविरुद्धको संघर्षमा जुट्दै पार्टीलाई अघि बढाउने दिशामा गोलबद्ध हुन सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गरिएको छ ।

वक्तव्यमा केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरूलाई पराजित गरी छाड्ने उदघोष समेत गरिएको छ ।

सरकारलाई विघटनतर्फ लैजाने, प्रतिनिधिसभालाई असंवैधानिक रूपमा विघटन गर्ने, वामपन्थी एकता र कम्युनिस्ट पार्टीको एकीकरणलाई समाप्त पार्ने ओलीले गरेको आरोप वक्तव्यमा लगाइएको छ ।

संयुक्त वक्तव्य जारी गर्नेमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने छन् ।

तपाइँको प्रतिक्रिया