वर्तमान सरकारले नमूना काम गरेको छ- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नमूना काम गरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै संघ, प्रदेश र पालीका तीनै तहको सरकारले अब बनाउने सडक अत्यन्तै प्रभावकारी हुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने,‘दीगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएका छौं। यो असाधारण उपलब्धि हो। यसलाई अझ उचाइमा पुर्याउनुपर्छ,।’ सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल र अरु पक्की पुल निर्माण गरेको बताए । यस्तै प्रधानमन्त्री ओलीले राति पनि चल्ने सुविधासम्पन्न हवाई मार्ग बनाएको, अन्तर्राष्ट्रिय स्तरको विमानस्थललाई सम्पन्नताको नजिक पुर्याएको बताए ।
हुलाकी राजमार्ग निर्माणको काम झण्डै ६५ प्रतिशत काम सकिएको उहाँको भनाइ छ । यस्तै दुर्गम ठाउँमा पक्की बाटो निर्माण गरेको उहाँले बताउनुभयो । पक्की बाटोको अर्थ बुझाउँदै प्रधानमन्त्री ओलीले भने,सडकबाट गाडी नझर्ने खालको, प्राविधिक रुपमा राम्रो, पिलरहरु राखिएका बाटो निर्माण भएको छ ।
नागरिकको जीवनको रक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले हरेक काममा नागरिकको जीवनलाई केन्द्र भागमा राखेर काम गरेको बताए ।