एमालेमा प्रवेश गर्ने नेताहरुलाई २४ घण्टा भित्र स्पष्टिकरण दिन माओवादी केन्द्रको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका नेताहरुसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार रामबहादुर थापा सहितका नेता नेकपा एमालेको केन्द्रित सदस्य बनेपछि माओवादी केन्द्रले कारवाही प्रक्रिया अघि बढाएको हो ।
शनिवार विहान बसेको स्थायी समिति बैठकले एमालेको कमिटीमा राखिएका संघिय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैठकले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।
पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
हाल माओवादी केन्द्रका गृहमन्त्री बादलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।
स्थायी समिति बैठकले चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ । चैत १ गते हुने भनिएको केन्द्रीय समितिको बैठक भने यथावत राख्ने निर्णय बैठकले गरेको छ ।