आइतबार, चैत १२, २०७९

प्रतिनिधिसभाको बैठक आज बस्दै, सातवटा अध्यादेश पेश गर्ने तयारी

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २६ गते १०:१३

काठमाडौं। विघटित प्रतिनिधि सभा पुनःस्थापनापछि आज दोस्रो बैठक बस्दै छ । गत आइतबार बसेको पहिलो बैठक प्रतिपक्षीको विरोधपछि स्थगित भएको थियो । आजको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि यही फागुन २३ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध पारेको थियो । तत्कालीन नेकपाको दाहाल(नेपाल समूहका सांसदले पनि बैठक बहिष्कार गरेका थिए ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा ९पहिलो संशोधन०, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गर्ने कार्यक्रम छ ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन)अध्यादेशसमेत पेस गर्ने बताइएको छ ।

यस्तै पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने विषय पनि आजको कार्यसूचीमा गरिएको छ । संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरे पनि सत्ता समिकरणमा व्यस्त रहेका दलहरुले संसदलाई महत्व दिएका छैनन् ।

तपाइँको प्रतिक्रिया