सोमबार, चैत ६, २०७९

ओली अल्पमतमा परिसके तत्काल राजीनामा दिनुको विकल्प छैन- जनमोर्चा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २४ गते १३:०२

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओली अल्पमतमा परेको भन्दै पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।

राजमोले नेकपाको वैधानिकता समाप्त गर्ने सर्वोच्चको फैसलाले राजनीतिक अन्योल उत्पन्न भएको ठहर समेत गरेको छ । उसले यो अवस्था अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर निकास दिनुपर्ने बताएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने र नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन गर्नु उपयुक्त हुने बताएका छन् ।

नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक बीच कार्यगत एकता गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प भएको राजमोको भनाइ छ । संसद विघटन, नेकपाभित्रको अन्तरविरोध वा कलहको मुख्य कारण ओलीको व्यक्तिवादी र अराजक कार्यशैली नै जिम्मेवार रहेको राजमोले आरोप लगाएको छ ।

पछिल्लो अवस्थाले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि खतरा पैदा हुने भन्दै केसीले राष्ट्रिय एकताको खाँचोसमेत औंल्याएका छन् । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जनाएको छ । प्रतिनिधिसभामा जनमोर्चाका एक जना सांसद छन् ।

तपाइँको प्रतिक्रिया