बुधबार, मंसिर १३, २०८०

महिलाकाे समान सहभागिता अत्यन्त जरुरी छ- प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २४ गते ८:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र समृद्धिका लागि महिलाहरुको समान सहभागीताको खाँचो रहेको औल्याएका छन् । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले देशको विकासका लागि महिलाहरुको समान सहभागिता जरुरी रहेको बताएका हुन् ।
ने

पालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको छ। ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, ‘देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी छ।’

उनले लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवम् प्रक्रियागत सुधारको फलस्वरुप राजनीति र प्रशासनको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व उल्लेखनीय रुपमा बृद्धि भएको बताएका छन्। ‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सूचकहरुमा पनि सकारात्मक सुधार भएका छन्,’ प्रधानमन्त्रीले भनेका छन्, ‘नेपालको लैङ्गिक विकास सूचकांकमा भएको सुधारबाट पनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ।’

सरकारको प्रयास गरिरहे पनि समाजको न्यून चेतनाका कारण समाजमा महिलामाथि हुने उत्पीडिनहरु कायमै रहेको प्रधानमन्त्री ओलीले बताएका छन्। त्यसलाई निमिट्यान्न पार्न सामाजिक जागरुकता आवश्यकता पर्ने उनले उल्लेख गरेका छन्।

‘अज्ञानता र कुरीतिको आड लिएर भएका खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन् । यसले महिलामाथि दुर्व्यवहार र हिंसालाई दुरुत्साहन गरिरहेको छ,’ उनले भनेका छन्, ‘यसखाले अपरधलाई निरुत्साह गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक रहेको दाबी गरेका छन् ।

तपाइँको प्रतिक्रिया