बिहीबार, चैत ९, २०७९

नेकपा संसदीय दलको बैठक पनि छुट्टाछुट्टै, दुवै समूहले कांग्रेसलाई समर्थ गर्ने तयारी

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २१ गते ८:०७

काठमाडौं । नेकपाको संसदीय दलको बैठक बोलाउन दुई पक्षबीच हानाथाप भएको छ। ओली पक्षले भोलि बैठक बोलाएपछि प्रचण्ड–नेपाल पक्षले आज नै बैठक बोलाएको हो।

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ। ओली पक्षले बैठक बस्नु अघिल्लो दिन बैठक बोलाएपछि प्रचण्ड–नेपाल पक्षले त्यसअघि आज नै बैठक बोलाएको प्रचण्ड–नेपाल पक्षका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

गुरुङलाई हटाएर ओलीले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा संसदीय दलका १७३ जनै सांसदलाई एसएमएसमार्फत खबर गरिएको जानकारी दिएका छन् ।

ओलीले भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि प्रचण्ड–नेपाल पक्षले आपत्ति जनाउँदै उक्त निर्णय कार्यान्वयन नगर्न संसद सचिवालयलाई आग्रह गरेको छ।

संसद बैठक बस्ने दिन नजिकिँदै जाँदा नेकपामा सांसद तानातानको अवस्था सिर्जना भएको छ। प्रचण्ड–नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेसको नेतृत्वमा सरकार बताउने तयारी तीव्र बनाएको छ ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच यसबारे छलफल शुरु भएको छ । प्रधानमन्त्री ओलीले राजीनामा नदिए यी दलले प्रतिनिधिसभा बैठक शुरु हुनुअघि नै कांग्रेसको नेतृत्वमा अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन्।

नेकपा र जसपासँग संवादमा रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार आइतबार बिहानसम्ममा प्रस्ताव दर्ता हुनेछ।

तपाइँको प्रतिक्रिया