ओलीको कार्यलाई मान्यता नदिन संसद सचिवालयलाई प्रचण्डको पत्राचार
काठमाडौ । नेकपा दाहाल–नेपाल समूहले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको जानकारी गराएको छ । दाहाल–नेपाल समुहका देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डेलगायतका नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएका हुन् ।
दाहाल नेपाल समूहले नेकपा संसदीय दलको हैसियतमा ओलीले गर्ने कुनै पनि कार्यलाई मान्यता नदिन पनि संघीय संसद सचिवालयलाई आग्रह गरेको छ । पत्रमा पार्टीको विधान अनुसार साधारण सदस्य तथा अध्यक्षबाट निश्कासन गरिसकेकाले संसदीय दलको नेताको रुपमा ओली रहन नसक्ने भन्दै सम्बन्धीत सबैको ध्यानाकर्षण गराईएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको “जानकारी सम्बन्धी पत्रमा” नेकपाको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारवाही मान्य नहुने जनाइएको छ ।