सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक
काठमाडौं । सरकारबाट प्रतिबन्धीत नेत्रविक्रम चन्द समूह विप्लव समूह र नेपाल सरकारबीच वार्ता भएको छ । बुधबार बिहान बसेको वार्ता सरकारात्म भएको सरकारका तर्फबाट वार्ता टोलीमा रहेका परराष्टविद् राजन भट्टराई जानकारी दिएका छन् ।
भट्टराई ट्विट मार्फत भनेका छन्, नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए ।
चन्द समूहले मंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ ।