पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै जटिल तर सुधारोन्मुख
काठमाडौं । नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।
शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता जोशीको आइसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । शनिबारको तुलनामा उहाँको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा। राजीव झाले जानकारी दिए ।
झाका अनुसार शनिबार भन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन् । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तैपनि उनले आँखा भने खोल्नु भएको छैन ।
यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उहाँको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ । ‘उनको अवस्था अझै खतरामुक्त भने छैन ।’ डा. झाले भने–‘उनको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’