दोलखामा बस दुर्घटना हुँदा ८ जना घाइते
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित शहरेको पौवाडाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।
दुर्घटनामा परी तामाकोशी गाउँपालिका वडा नम्बर ५ शहरेकी २६ वर्षिया चन्द्रावती सुनुवार, वडा नम्बर ६ च्यामाका ७० वर्षिय कृष्ण प्रसाद फुँयाल र वडा नम्बर ५ पौवाडाँडाकी २५ वषिया गंगा सुवेदी गम्भिर घाईते भएकी हुन् । उनीहरुको किर्ने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा परी शहरेका गोफ्ले सार्कि, देवी फुँयाल र उनकी छोरी ८ वर्षिया प्रतिमा, च्यामाका नारायण श्रेष्ठ र थलमाया फुँयाल सामान्य घाईते भएका छन् । उनीहरुको पनि किर्नेमा उपचार भइरहेको छ ।
काठमाडौंबाट हावातर्फ जाँदै गरेको बा २ ख ६५९८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बसमा २८ जना यात्र सवार रहेको बताइएको छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन ।