बिहीबार, चैत ९, २०७९

बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, एकै परिवारका तीन घाइते

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १४ गते ९:०७

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिरामी बोकेको जीप दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका तीन जनासहित चार घाइते भएका छन्।

बिहीबार राति मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जीप सडकबाट म्याग्दी नदीमा खसेको थियो। दुर्घटनामा मालिका गाउँपालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ।

उनी दुर्घटनामा घाइते भएका थिए। उनको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जीप दुर्घटना परेको हो। दुर्घटनामा घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा लगिएको छ।

त्यस्तै, दुर्घटनामा घाइते भएका मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइते तीन जना एकै परिवारका सदस्य हुन्।

तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए।

 

तपाइँको प्रतिक्रिया