चार दिनदेखि अपहरित महोत्तरी पिपराका दम्पती अझै फेला परेनन्
महोत्तरी । चारदिनदेखि महोत्तरीको पिपरा गाँउपालिका ५ बाट अपहरित एक दम्पती अझै फेला परेका छैनन् । उनीहरुलाई फाल्गुन १० गते सोमवार राति सुति रहेको बेला घरबाटै अपहरण गरी बेपता पारिएका थिए ।
सहोडवाका ६५ वर्षीय मोसाफिर झा र ६० वर्षीया गीतादेवीलाई राति आक्रमण गरी बेपत्ता पारिएको परिवारजनले दाबी गरेका छन् । उनीहरु सुतेको ओछ्यान समेत लगेका छन् ।
दुवै जना सुतेको ठाउँमा रगत भेटिएकाले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए् । बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
झाको घरमा थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए । स्थानीयका अनुसार झा मोही सम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति हुन् । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
जग्गावाला सँग झाको विवाद समेत भएको स्थानीयले बताए । यता दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग सहित मंगलवार देखि दैनिक जलेश्वर–जनकपुर सडक अवरुद्ध पार्ने गरेका छन् ।
अनुसन्धानकै क्रममा महोत्तरी प्रहरीले हालसम्म एक दर्जन जनालाई पक्राउ गरी सोधपुछ समेत गरेको छ ।