मेलम्चीकाे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण गरियो
काठमाडौं । पूजा पाठसहित मेलम्ची खाने पानीको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको हो ।
खानेपानी मन्त्री मणिचन्द्र थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतका पदाधिकारीहरू आयोजनास्थल मेलम्चीमा पुगेर परीक्षण सुरु गरेका हुन् । गत असारमा यो सुरुङमा पानी भनेर परीक्षण गर्दा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७ै) फुटेको थियो । त्यसपछि मर्मत गरेर पुन सोमबार पानी छाडिएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । गत असारमा पानी परीक्षणका क्रममा दुर्घटना भएर २ जनाको मृत्यु भएकाले यो पटक परीक्षण गर्दा पूजा पाठसहित गरिएको मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ ।
बाँधस्थलमा रहेको पानी सुरुङमा पठाउने क्रममा भित्र ब्राह्मण पुरोहितको मन्त्रोच्चारण र बाहिर बौद्ध पुरोहितले मन्त्रोच्चारण गरेका थिए । आगामी वैशाखदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी बितरण हुने जनाइएको छ ।