बिहीबार, जेठ १८, २०८०

उपराष्ट्रपति र सभामुखमाथि प्रधानमन्त्री सचिवालयको प्रश्न- नैतिकताको संकटमा उपचार के हुन्छ ?

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ८ गते १०:०३

काठमाडौं । प्रदेश नम्बर २ का प्रदेश प्रमुखको सपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख उपस्थित नभएपछि प्रधानमन्त्रीको सचिवालयले आक्रोश व्यक्त गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत उपराष्ट्रपति र सभामुखको आलोचना गरेका हुन् ।

अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गंभीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमको उपस्थिति स्वेच्छिक होइन र हुनै नसक्ने कुरा उल्लेख गरेका छन् ।
उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी हो । अझ नबोल्ने सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन भन्दै आलोचना गरेका छन् ।

पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता ूपूर्वहरूूको बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो । बहालवाला उपराष्ट्रपति र सभामुखको यसप्सकारको अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो भन्दै थापाले फेसबुक मार्फत कडा रुपमा आलोचना गरेका छन् । उनले गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह बहिस्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहने ? टाँस्सिइरहने ? भन्दै प्रश्न गरेका छन् ।

सरकारविरुद्द विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयोजना गरिरहने यो के रवैया हो भन्दैं प्रश्न मार्फत जवाफ माग गरेका छन् । राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो भनेर पटक पटक प्रश्न तेस्राएका छन् ।
थापाले पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताको संकटमा उपचार के हुन्छ भन्दै सचेत नागरिक तहमा उठिरहेका गंभीर प्रश्नहरूको जवाफको माग गरेका छन् ।

तपाइँको प्रतिक्रिया