राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा भुटानका प्रधानन्यायाधीश र सेना प्रमुख पक्राउ
एजेन्सी । दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष कानुन अधिकारीलाई अपदस्थ गर्ने षड्यन्त्र रचेको आरोपमा सर्वोच्च अदालतका एक जना बरिष्ठ न्यायाधीश, एक जना शीर्ष सैनिक अधिकारी र एक जना जिल्ला अदालतका न्यायाधीशलाई हिरासतमा लिइएको हो ।
भुटानको सरकारी अखबार कुएन्सेलका अनुसार भुटान प्रहरीले सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश कुएन्ले छिरिङ, पेमागात्सेल जोंगखाग र प्रशासनिक इकाइका ड्रांगपोन येसे दोर्जीलाई हिरासतमा लिएको हो । यो कारवाही पूर्व शाही सुरक्षा गार्ड कमाण्डेन्ट खान्दु वाङ्मोलाई हिरासतमा लिएपछि गरिएको छ । अखबारका अनुसार यी तीनै जनालाई अदालतमा पेश गरिएको हो ।
अदालतले तीनै जनालाई जमानतमा छाड्न अस्वीकार गरेको जनाइएको छ । यो विषयमा अदालती प्रक्रियाको दायराभित्र आइसकेको र हिरासतमा लिइएका व्यक्तिहरुसँग सोधपुछ चलिरहेकाले जमानतबारे तत्कालै निर्ण नलिइएको अदालतले जनाएको छ । केही समयअघि खान्दु वाङमो नामकी एक महिलालाई पक्राउ गरिएको थियो ।
यी महिलाले षड्यन्त्रबारे कैयौं खुलासा गरेकी थिइन् । यी महिलाका अनुसार रोयल सुरक्षा गार्डका प्रमुख, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र सर्वोच्च अदालतका महा न्यायाधीवक्ता वा रजिस्ट्रार जनरललाई अपदस्थ गर्ने षड्यन्त्र भइरहेको थियो ।